दल नेतामा बहादुरसिंह अल्पमतमा, बानियाँलाई मुख्यमन्त्री बन्ने ढोका खुला

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ।

गत ९ गते पेश गरिएको सो प्रस्तावलाई प्रदेश सभा संसदीय दलको विधान अनुसार मंगलबार बसेको बैठकमा अन्तिम निर्णय लिइएको हो।

बैठकमा नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी.को उपस्थितिमा अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। कुल ३७ सदस्यहरूमध्ये २२ जना सांसद अविश्वासको पक्षमा देखिए भने १५ जना विपक्षमा रहे।

यसअनुसार नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलमा बहुमतले अविश्वास प्रस्ताव पारित भएको घोषणा गरिएको छ।

संसदीय दलका सदस्य सचिव कृष्णकुमार तामाङ, केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी., बहादुर सिंह लामा (तामाङ)का प्रतिनिधि कुण्दनराज काफ्ले तथा इन्द्र बहादुर बानियाँका प्रतिनिधि श्रीराम लामिछानेले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।

यससँगै नेपाली कांग्रेस बागमती प्रदेशमा मूख्य मन्त्री रहेका बहादुरसिंह तामाङको पद धरापमा परेको छ ।

दलको नेतामा इन्द्र बहादुर बानियाँ आजै कांग्रेस संसदीय दलको नेता हुने र कांग्रेस विधान अनुसार दल नेता नै मुख्य मन्त्री हुने ब्यवस्था बमोजिम बागमती प्रदेशमा बानियाँलाई मुख्यमन्त्री बन्ने ढोका खुलेको एक कांग्रेस नेताले बताएका छन् ।