बागमतीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘निरोगी नेपाल बनाऔं’

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे ।
 
सो अवसरमा उनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ल्याएको  डिजिटल हेल्थ कार्यक्रमको पनि शुभारम्भ गरेका छन् ।
  
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउनुपर्ने बताए । “नेपालमा मानिसलाई मात्र होइन, जनावर, पशुपंक्षी र वनस्पतिलाई पनि निरोगी बनाउनुपर्छ ।” उनले भने ।
 
निरोगीताको लागि खोपको महत्व भएको भन्दै उनले बागमती प्रदेशको पूर्ण खोप सुनिश्चितताले देशलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न समेत योगदान गर्ने उल्लेख गरे ।
 
प्रधानमन्त्री ओलीले नेपाल सफा भएको तर, मानव ब्यवहारका कारण फोरोर बनाइएको दावी गरे । “हनुमन्ते हेरेर नेपाल फोहोर छ भन्न मिल्दैन।” उनले नजिकै बगिरहेको हनुमन्ते खोलालाई इङ्गित गर्दै भने । 
 
प्रधानमन्त्री ओलीले बागमतीमा सयौं ढल मिसाइरहने र सयौं हप्ता सफाइ अभियान चलाइरहनुको औचित्य नहुने स्पष्ट पारे ।
 
“फोहोर गरिरहने प्रवित्तिले जति सफाइ अभियान चलाएपनि उपलब्धि हुँदैन” उनले भने, “हाम्रो स्वच्छ वातावरणबाट फाइदा उठाउने हो, प्रदुषित पार्ने होइन ।”
 
प्रधानमन्त्री ओलीले देशमा स्वयमसेवकहरु आवश्यक रहेको पनि उल्लेख गरेका छन् । सुविधाका लागि अघि सर्ने र सेवा गर्नुपरे पछि हट्ने कर्मचारीतन्त्र रहेको भन्दै उनले असन्तोष ब्यक्त गरे । ” अहिले सेवा गर्नुपरे अघि रहेका कर्मचारी पछि हट्छ्न् तर, पछाडि रहनुभएका महिला स्वयंसेविका अगाडि आउनुहुन्छ” उनले भने, ” देश यस्तै स्वयंसेवकहरु मिलेर बनाउनुपर्छ ।”
 
कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्यतर्फ निरन्तरको सक्रियताले पूर्ण खोप सुनिश्चित सम्भव भएको बताए । 
 
त्यस्तै, स्वास्थ्य मन्त्री किरण थापामगरले प्रदेशका १ हजार १ सय २१ वटा वडा, १ सय १९ पालिका र १३ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित गर्नु महत्त्वपूर्ण उपलब्धिको रुपमा रहेको उल्लेख गरे ।
 
स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले प्रदेशभरका बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएपछि प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताइन् । १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई हेर्दा सो सुनिश्चितता प्रमाणित भएको उनले प्रष्ट पारिन् ।
 
स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झाले जनाए अनुसार प्रदेशमा रहेका १ लाख २८ हजार ४ सय २१ बालबालिकाले पूर्ण खोप पाएका छन् । प्रदेश अन्तर्गत काठमाडौ जिल्लामा सबैभन्दा बढी र रसुवामा सबैभन्दा कम सो उमेर समुहका बालबालिका रहेका समेत उनले जानकारी गराए ।
Mahila swayamsebika
Mahila swayamsebika
 
कार्यक्रममा खोप अभियानका क्रममा उत्कृष्ट काम गरेका प्रदेश मातहत रहेका कर्मचारी तथा १३ वटा जिल्लाबाट छानिएका स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । 
 
Roshani Shrestha
Roshani Shrestha

घोषणा कार्यक्रममा पूर्व संघीय मन्त्री महेश बस्नेत, उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, बागमती प्रदेश भित्रका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

देशैभर पूर्ण खोप सुनिश्चित घोषणा हुन सफल प्रदेशमा भने बागमती दोश्रो हुन सफल भएको छ । यस अघि मधेस प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भइसकेको छ । बागमती प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएपनि दिगोपना घोषणा हुन बाँकी छ । अर्को वर्ष दिगोपना घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको लक्ष रहेको छ ।