स्थायी समितिमा प्रभाकरप्रति असन्तुष्टि पोख्दै प्रचण्डले भने- स्वार्थ समूह विघटन गरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको बिचार समूह कमजोर तर, स्वार्थ समूह बलियो बनिरहेको बताएका छन् ।

शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रचण्डले अन्तरविरोधलाई बाहिर ल्याएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’प्रति असन्तुष्टि व्यक्त गर्दै सो बिश्लेषण गरेका हुन्।

एक नेताका अनुसार, प्रचण्डले नेताहरूमाझ विचार समूहभन्दा स्वार्थ समूह हाबी हुन थालेको र त्यसलाई विघटन गर्नुपर्ने प्रस्तावसमेत राखे। यद्यपि उनले जनार्दन शर्मा प्रभाकरविरुद्ध स्पष्ट कारबाहीको प्रस्ताव भने राखेनन्।

प्रभाकरको पछिल्लो सार्वजनिक अभिव्यक्तिप्रति चासो जनाउँदै पार्टीभित्रका आन्तरिक विषय मिडियामार्फत सार्वजनिक हुनु अनुचित भएको उनले तर्क गरे ।

नेकपाका संस्थापक नेता पुष्पलालको स्मृति दिवसका क्रममा शर्माको सार्वजनिक अभिव्यक्तिले पार्टी भित्रको अन्तरबिरोध बाहिरीएको मात्र छैन, नेताकार्यकर्ताले कित्ता पनि क्लियर गरिरहेका छन् ।

त्यसलाई लिएर प्रचण्डले आन्तरिक अनुशासन र कम्युनिस्ट मूल्यमा विचलन भएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

बैठकमा शुक्रबार एजेन्डा मात्र प्रस्तुत गरिएको र शनिबारदेखि नेताहरूले धारणा राख्ने जानकारी दिइएको छ। 

यो घटनाक्रमले माओवादी केन्द्रभित्रको शक्ति सन्तुलन, अनुशासन, र नेतृत्व शैलीबारे गहिरो बहस चर्किने संकेत देखाएको छ।