काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ। बिहीबार सम्पन्न उक्त अनुगमन महानगरका विभिन्न विभागहरुको संयुक्त टोलीले गरेको हो।
शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको सो निरीक्षणमा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता भेटिएको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए। उनका अनुसार, विद्यालयलाई २२ वटा विषयसँग सम्बन्धित आवश्यक कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र कागजात पेश नगरे कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने उनले चेतावनी दिए।
अनुगमनमा सहभागी टोलीमा शहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी विभाग, सार्वजनिक निर्माण विभाग, शहरी व्यवस्थापन विभाग र शिक्षा विभागका प्रतिनिधिहरू रहेका थिए। टोलीले विशेषतः छात्रवृत्ति कार्यक्रम, शुल्क संरचना र नियामक मापदण्डको पालना बारे जाँच गरेको थियो।
अनुगमन टोलीका सदस्य शैलेन्द्र झाका अनुसार छात्रवृत्ति कार्यक्रमको अध्ययनबाट सुरू गरिएको भए पनि विद्यालयमा अन्य कैयौं समस्या समेत पत्ता लागेका छन्। महानगरपालिकाले आगामी दिनमा थप अनुगमन र आवश्यक कदम चाल्ने संकेतसमेत दिएको छ।







