अस्पताललाई ‘हाई एलर्ट’ रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा हुन सक्ने सम्भावित तथा अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले उच्च तयारी अपनाएको छ । मन्त्रालयले प्रदेशका १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित निकायलाई उच्च तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ।

सबै प्रादेशिक अस्पतालहरू २४ घण्टा तयारी अवस्थामा रहने, निर्वाचन केन्द्रीत मेडिकल टास्क फोर्स गठन गर्ने तथा आवश्यक जनशक्ति, औषधि, उपकरण र आपतकालीन सेवा सुनिश्चित गर्न निर्देशन दिइएको मन्त्रालयकि सचिव डा सुमित्रा गौतमले जानकारी गराइन ।

“निर्वाचनसँग सम्बन्धित हुन सक्ने अनपेक्षित घटनाबाट घाइते व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने छ।” उनले भनिन् ।

सचिव गौतमका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराइनेछ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा, आकस्मिक कक्ष (इमर्जेन्सी) र रगत आपूर्तिलगायतका सेवा तयारी अवस्थामा राख्न अस्पतालहरूलाई भनिएको छ।

निर्वाचन अवधिमा सबैको ध्यान निर्वाचनमा केन्द्रीत रहँदा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिनु सकारात्मक रहेको सरोकारवाला बताउँछन् ।