हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ७ वटा आफ्ना प्रादेशिक अस्पताललाई एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराएको छ ।
भक्तपुर अस्पताललाई दुई थान र अन्य बज्रबाराही अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चौतारा अस्पताल, पशुपति चैलागाई अस्पताल दोलखा र धादिङ अस्पताललाई एक-एक वटा एनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराइएको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले जानकारी गराएकी छन् ।
एनेस्थेसिया वर्क स्टेसन भनेको यस्तो मेसिन हो जुन शल्यक्रिया (अप्रेसन) को क्रममा बिरामीलाई बेहोस बनाउने (एनेस्थेसिया दिने) कामका लागि प्रयोग गरिन्छ।
सचिव डा गौतमका अनुसार यो वर्कस्टेसनले बिरामीलाई सुरक्षित रूपमा एनेस्थेसिया दिन, त्यस्तै मुटुको गति, अक्सिजन स्तर, रक्तचाप लगायत जीवन चिह्न निगरानी गर्न र आवश्यक औषधी तथा ग्यासहरू मिलाउन सहयोग गर्छ।
अस्पतालमा एनेस्थेसिया नहुदाँ र भएकामा पनि बिरामीको चापका कारण समयमै शल्यक्रिया हुन नसकेको गुनासो आएपछि मन्त्रालयले ऐनेस्थेसिया वर्क स्टेसन उपलब्ध गराएको स्वास्थ्य मन्त्री किरण थापाले बताएका छन् ।
प्रदेश सरकारले अस्पतालमा सेवाको गुणस्तर वृद्धि गर्न र सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न हरसम्भव प्रयास गरिरहेको र अन्य आवश्यक उपकरण पनि क्रमशः उपलब्ध गराइने मन्त्री थापाले जानकारी गराए ।
प्रदेश स्वास्थ्य मन्त्रालयले यसै महिना मिर्गौलाको डायलासिस सेवा बिस्तारको लक्षसहित भक्तपुर अस्पताललाई पाँच थान र हेटौंडा अस्पताललाई तीन थान त्यसैगरी अन्य धादिङ अस्पताल, सिन्धुली अस्पताल, त्रिसुली अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई दुई-दुई थान डायलासिस मेसिन समेत उपलब्ध गराइसकेको छ ।







