ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्वन उत्सर्जन न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका लिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले हालको विश्वव्यापी साझा चुनौती जलवायु परिवर्तन भएको बताए। उनले सोच, संकल्प र व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे।
उनका अनुसार मानव निर्मित संरचनाको अत्यधिक विस्तारले प्रकृतिको सन्तुलन विग्रँदै गएको छ, जसले जलवायु परिवर्तनलाई थप तीव्र बनाएको छ। अत्यधिक वर्षा, खडेरी र बेमौसमी मौसमी घटनाहरूले अर्बौंको क्षति पुर्याएको उल्लेख गर्दै उनले रसुवामा हालैको हिमताल विस्फोट पनि सोही असरको उदाहरण भएको बताए।
शर्माका अनुसार औद्योगिक गतिविधिबाट विश्वको कुल कार्वन उत्सर्जनको ६५ प्रतिशत, जंगल फँडानीबाट १० प्रतिशत, मानवीय क्रियाकलापबाट ६ प्रतिशत र फ्रिज, एसीजस्ता उपकरणबाट बाँकी अंश उत्सर्जन भइरहेको छ। उनले प्लास्टिकको प्रयोग घटाउनेदेखि मानव व्यवहारमा सुधार ल्याउने सम्मका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए।
उनले नेपाल, भारत र चीनका गरी ४७ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको जानकारी दिँदै तापक्रम वृद्धिले हिउँ पग्लनु र हिमताल बढ्नुजस्ता समस्याले तत्कालीन खतरा निम्त्याउने उल्लेख गरे।
उनले नेपालले जलवायु परिवर्तनमा नगरेको प्रभावको सजाय भोगिरहेको भन्दै आवाज बुलन्द पार्नुपर्ने धारणा राखे। “अमेरिका, अस्ट्रेलिया, क्यानाडा, चीनजस्ता देशको अत्यधिक उत्सर्जनका कारण हामी समस्यामा परेका छौं, हाम्रो हिमालले प्रत्यक्ष असर भोगिरहेको छ,” उनले भने।
समुद्रले ३० प्रतिशत र नदीनालाले ३ प्रतिशतसम्म कार्वन उत्सर्जन अवशोषण गरिरहेको उल्लेख गर्दै मानिसले पनि आफ्नो जीवनशैली सुधारेर जैविक तथा जीवाश्म इन्धनबाट हुने उत्सर्जन घटाउनुपर्ने आवश्यकता औंल्याए।






