ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकका तयारी पूरा भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
असोज २८ गते सुरु भएको बैठक कातिक १ गते स्थगित भएको थियो। सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बैठक स्थगित भएको थियो। त्यसपछि असोज ३० र ३१ गते खड्काको सभापतित्वमा बैठक बसेको थियो।
असोज ३१ गतेको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी तथा प्रदेश सभापति उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले धारणा राखेका थिए।
त्यस्तै असोज ३० गतेको बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरु बराल र नृपबहादुर वडले धारणा राखेका थिए।
केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित प्रतिनिधिसहित १६५ सदस्य सहभागी हुने बैठकमा बाँकी पदाधिकारी र सदस्यहरूले १० वटा प्रस्तावमा धारणा राख्ने तयारी भएको मुख्यसचिव पौडेलले बताए।
बैठकमा जेनजेड प्रदर्शन र हालका राजनीतिक घटनाक्रम, पार्टीको १५औं महाधिवेशन तयारी, प्रतिनिधि सभा विघटन र फागुन २१ मा तोकिएको निर्वाचन, तोडफोड र आगजनीबाट क्षतिग्रस्त केन्द्रीय कार्यालयलगायतका पुनर्निर्माण कार्य, मुलुकको शान्ति–सुरक्षा र सुशासन, प्राकृतिक विपद् तथा क्षतिपूर्ति, पुनर्निर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासन सम्बन्धी व्यवस्था लगायत विषयमा छलफल जारी रहेको केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिए।






