कांग्रेसका उपसभापति भन्छन् – अझै निर्वाचनको वातावरण बनेन

dhanraj Gurung
dhanraj Gurung

ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि निर्वाचनको वातावरण बन्न नसकेको प्रतिक्रिया दिएका छन्।

नेपाली कांग्रेसको बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार पक्षले निर्वाचनको वातावरण बनाउन नसकेकै कारण संसद् पुनःस्थापनाको आवाज उठ्न थालेको बताए।

उनले भने, “कार्यसम्पादन बैठक आज पनि बस्दैछ। बैठकले संसदीय बोर्ड र समानुपातिक सूची लगायतका विषयमा उचित निकास देला भन्ने अपेक्षा छ। केही दिनअघि सरकारले दलहरूलाई बेवास्ता गर्दै जेनजेडसँग दशबुँदे सहमति गरेको छ, यसले पनि शंका पैदा गरेको छ।”

उपसभापति गुरुङले निर्वाचन स्वच्छ, धाँधलीरहित र निष्पक्ष हुने सुनिश्चित भएमा निर्वाचन नै अन्तिम विकल्प हुनसक्ने धारणा राखे।
उनले भने, “सबै मिलेर जानुपर्छ। निर्वाचन निर्विवाद रूपमा हुनुपर्छ। सरकारले फागुन २१ गतेको निर्वाचनलाई अर्जुन दृष्टि राख्नुपर्छ र दलहरूलाई तिरस्कार गरेर निर्वाचन हुन सक्दैन।

उनी थप्छन् “जेनजेड र सरकारबीच भएको १० बुँदे सम्झौताले राज्यमा सुशासन र शान्ति–सुरक्षाको प्रत्याभूति गर्ने अवस्था छैन। अहिलेको परिस्थिति अनुसार निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने कुनै ग्यारेन्टी देखिँदैन। सरकारले वातावरण बनाउनुपर्छ, कुनै पनि पार्टीलाई निर्वाचनको यात्रामा रोकिनु हुँदैन।”

फागुन २१ को निर्वाचन आउन धेरै समय बाँकी नरहेको उल्लेख गर्दै गुरुङले सरकारले तत्काल उचित वातावरण बनाउनुपर्नेमा जोड दिए।
उनले भने, “अहिले चुनाव गराउन नदिने र गराउनेबीच जुहारी चलिरहेको छ। सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ। प्रधानमन्त्रीले भनेको जेठो छोरा नै चुनाव हुन दिन्न भन्ने अभिव्यक्तिले आशंका बढाएको छ। चित्तबुझ्दो वातावरण बनाउनुपर्छ। पुरानो र नयाँ भनेर विभाजन गर्ने काम हुनु हुँदैन।”

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीका पदाधिकारीहरूका साथै पूर्वगृहमन्त्री रमेश लेखकसमेत सहभागी छन्।