ललितपुर। सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी छन्। हातमा माइक बोकेर एक व्यक्ति अगाडि उभिएका छन्—लङकोट र बुटमा सजिएका, तर कुनै औपचारिक मञ्चमा होइन । न झिलिमिली ब्यानर छ, न नाराले भरिएको चुनावी सभा। उनी छन्—बस्तीभित्र, जनताकै घरदैलोमा।
धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको ‘जनमुखी’ चुनावी यात्राजस्तै शैली अहिले दक्षिण ललितपुरमा देखिन थालेको छ। यो शैली अपनाउने व्यक्ति हुन्—समाजसेवी सनोज महत।
धरानमा हर्क साङपाङले अपनाएको ‘एक्लो तर जनमुखी’ राजनीतिले धेरैलाई चकित बनाएको थियो। माइक बोकेर, टेम्पो चढेर, आफ्नै आवाजमा आफ्नै कुरा राख्दै उनले चुनाव जिते। अहिले त्यही शैली गोदावरी नगरपालिकामा देखिन थालेको छ, जहाँ सनोज महत जनतासँगै बस्ने, सुन्ने र प्रश्न गर्ने राजनीतिमा होमिएका छन्।
बस्ती–बस्ती पुग्ने अभियान
सनोज महत हाल दक्षिण ललितपुर केन्द्रित अभियानमा छन्। उनी ठूला सभा, भीडभाड वा नेताको भाषणमा सीमित छैनन्। उनी बस्ती पस्छन्, स्थानीयसँग संवाद गर्छन्, पर्चा बाँड्छन् र सार्वजनिक स्थानमै बसेर आफ्ना विचार राख्छन्।
बुधबार र बिहीबार उनी गोदावरी नगरपालिका वडा नं. १, गोदामचौरमा भेटिए। वडा कार्यालय नजिकैको सार्वजनिक जग्गामा टेन्ट गाडेर बसेका महतले माइकमार्फत आफ्ना धारणा राखे। वरिपरि भेला भएका स्थानीयसँग अन्तरक्रिया गरे, उनीहरूका गुनासो सुने।
उनको अभियान भाषणमै सीमित छैन। हरेक वडामा २४ घण्टा बस्ने योजना उनले अघि सारेका छन्। ललितपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने चार पालिकाका ३० वटै वडामा पुग्ने तयारीमा उनी छन्।
“वडाको सार्वजनिक जग्गामा टेन्ट हालेर रात पनि त्यहीँ बिताउँछु,” उनी भन्छन्, “जनताले कस्तो समस्या भोगिरहेका छन्, प्रत्यक्ष देख्न र बुझ्न चाहन्छु।”
विद्यालयदेखि स्थानीय सरकारसम्म प्रश्न
महतको अभियानको एउटा मुख्य केन्द्रविन्दु बनेको छ—सामुदायिक विद्यालयमा देखिएका विकृति। पिपुल्स फस्ट पार्टीको नाममा अघि बढिरहेको अभियानमा उनले विद्यालय व्यवस्थापन, पारदर्शिता र गुणस्तरमाथि प्रश्न उठाएका छन्।
राजनीतिक दल र नेतृत्वले वर्षौंदेखि गरेको कामको आलोचना गर्दै उनी भन्छन्,“जनताको नाममा बजेट आउँछ, तर परिणाम कहाँ छ ?”
विद्यालयमा अनियमितता देखिए सूचनाको हक प्रयोग गरेर कागजात माग्ने र सार्वजनिक गर्ने चेतावनी पनि उनले दिएका छन्।
“फण्डाफोर गर्छु,” उनी स्पष्ट शब्दमा भन्छन्, “किनभने यो राजनीति होइन, यो जनताको अधिकारको कुरा हो।”
‘निर्वाचनका लागि मात्र होइन’
आगामी फागुन २१ गते सङ्घीय निर्वाचन घोषणा भएको सन्दर्भमा महतको सक्रियतालाई धेरैले चुनावी तयारीका रूपमा हेरेका छन्। तर उनी स्वयं भने त्यसलाई अस्वीकार गर्छन्।
“निर्वाचन होला न होला, मलाई थाहा छैन,” उनी भन्छन्,
“तर म आफ्ना कुरा जनतासम्म पुर्याउन चाहन्छु। यो अभियान चुनावका लागि मात्र होइन।”
उनका अनुसार उनले लामो समय राजनीति गरे। अब भने ३० दिन जनतासँगै बस्दै उनीहरूका दुःख–सुख बुझ्न चाहन्छन्।
“लामो समय जनताका लागि राजनीति गरेँ,” उनी भन्छन्,
“अब ३० दिन जनतासँग भिज्न निस्केको हुँ।”
को हुन् सनोज महत ?
सनोज महत गोदावरी नगरपालिका वडा नं. ५, लेलेका स्थायी बासिन्दा हुन्। उनको राजनीतिक यात्रा सरल छैन—संघर्ष, जेल जीवन र वैचारिक उतार–चढावले भरिएको छ।
२०५८ सालमा पाटन कलेजमा आइए अध्ययन गरिरहेका बेला उनी तत्कालीन सरकारले आतंककारी घोषणा गरेको नेकपा (माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध थिए। त्यस क्रममा ‘आतंककारी गतिविधिमा संलग्न’ भएको आरोपमा पक्राउ परे। पछि अदालतबाट सफाइ पाए।
२०६० सालमा सफाइ पाए पनि त्यसअघिको समय उनले जेलमै बिताए—जहाँ बसेरै आइए उत्तीर्ण गरे।
त्यसपछि अध्ययनका लागि भारत पुगे। २०६३ सालपछि माओवादी खुला राजनीतिमा आएपछि उनी पुनः सक्रिय भए। बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीमा उनी ललितपुर जिल्ला प्रमुखसमेत बने। तर २०६८ सालपछि उनले सार्वजनिक रूपमै पार्टी त्यागे।
आज उनी आफूलाई कुनै दलको नेता वा कार्यकर्ता भन्न रुचाउँदैनन्।
“म अहिले कुनै राजनीतिक गतिविधिमा सक्रिय छैन,” उनी भन्छन्,
“कुनै राजनीतिक दर्शन बोकेर हिँडेको छैन। म विशुद्ध स्वतन्त्र हुँ।”
उनी विगततर्फ फर्केर हेर्दा भन्छन्—त्यो समय सचेतभन्दा बढी अचेत भएर राजनीतिमा लागेको रहेछु। अहिले भने उनी आफूलाई प्रश्न गर्ने, प्रणालीलाई चुनौती दिने र जनताकै बीच बसेर राजनीति बुझ्ने बाटोमा छन्।
नयाँ शैली, पुरानो प्रश्न
धरानका हर्क साङपाङले देखाएको बाटो संयोग मात्र होइन, सम्भावना पनि हो। त्यही सम्भावनाको छायाँमा ललितपुरका सनोज महत अघि बढिरहेका छन्।
प्रश्न एउटै छ—
के यो ‘घरदैलो राजनीति’ले दक्षिण ललितपुरमा पनि उस्तै प्रभाव छोड्न सक्छ ?
यसको उत्तर भने अब जनताले नै दिनेछन्।
यसै सन्दर्भमा महतले पुस ६ गते आइतबार ‘गफगाफ दक्षिण ललितपुर’ कार्यक्रम आयोजना गरी ललितपुरका क्रियाशील पत्रकारसँग साक्षात्कारसमेत गरेका थिए। सो अवसरमा उनले पत्रकारहरूको धारणा र प्रतिक्रिया पनि संकलन गरेका थिए।







