ललितपुर। महिनावारीमैत्री समाजका लागि सहकार्य भन्ने नारासहित बुधबार बसन्तपुरबाट सुरु र्याली ललितपुरको मङ्गलबजारमा आएर समापन भएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहले उद्घाटन गरेको र्यालीमा करिब चार सय साक्लिस्टको सहभागीता रहेको थियो । ९० प्रतिशत महिलाहरुको उपस्थितिमा सम्पन्न साइकल यात्राको समापन मङ्गलबजारमा गरियो।ललितपुरस्थित एक्सपोज नेपालको च्यारिटी प्याड उद्योगले दिवसको अवसरमा हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
हरेक वर्ष २८ मेमा मनाइने यस दिवस सन् २०१४ देखि विश्वभर सुरु भएको हो भने नेपालमा पनि सोही वर्षदेखि औपचारिक रूपमा मनाउन थालिएको हो ।
समापनमा प्रतिनिधि सभा सदस्य प्रभा ढकालले महिला स्वास्थ र मर्यादित महिनावारीका साथै स्वच्छताका लागि सरकारले महिलामैत्री नयाँ नीति ल्याउने बताइन् । स्वास्थ्य, शिक्षा तथा संचार प्रविधि समितिका सदस्य समेत रहेका ढकालले महिनावारीमा प्रयोग गरिने प्याडमा कर छुटको विषयलाई यो सरकारले विशेष पहल गर्ने पनि उल्लेख गरिन् ।
कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष एवं नेपालका प्याडम्यान ज्ञान महर्जनले महिनावारी स्वच्छताको लागि सुरक्षित, सम्मानजनक र पहुँचयुक्त महिनावारी व्यवस्थापन सुनिश्चित गर्न आवश्यक नीति, पूर्वाधार र व्यवहार परिवर्तनका विषयमा सासद ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरे।
सो कार्यक्रमका लागि महिनावारी स्वच्छताको क्षेत्रमा कृयाशिल विभिन्न संघ सस्थाहरुको समन्वय रहेको थियो ।







