स्थानीय तहलाई स्वास्थ्य सेवामा थप जवाफदेही बन्न आग्रह, आयुर्वेद सेवामा चासो बढ्दो

ललितपुर । स्थानीय तहले स्वास्थ्य सेवा प्रवाहको जिम्मेवारीलाई अधिकारसँगै प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा आयुर्वेद क्षेत्रका सरोकारवालाले जोड दिएका छन्।

ललितपुरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्वारा आयोजित जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा वक्ताहरूले आधारभूत स्वास्थ्य सेवा नागरिकसम्म सहज रूपमा पुर्‍याउन स्थानीय तहको भूमिका निर्णायक हुने बताएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट सालोक्य चिकित्सक डा. पुष्पराज पौडेलले “स्वस्थ नेपाली, समृद्ध नेपाल” को लक्ष्य हासिल गर्न स्थानीय तहबाट गुणस्तरीय स्वास्थ्य सेवा अनिवार्य रहेको उल्लेख गरे। उनले सेवाग्राही केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सरकारी कर्मचारीले जिम्मेवारी र जवाफदेहिता बोधसहित काम गर्नुपर्ने बताए। “जागिर खाँदै गर्दा निष्क्रिय रहने र पछि ठूलो कुरा गर्ने प्रवृत्तिले सुधार ल्याउँदैन,” उनले टिप्पणी गरे।

उनले योजना तर्जुमा चरणमै स्पष्टता र व्यवहारिकता कायम गर्न सके कार्यान्वयन सहज हुने उल्लेख गर्दै स्थानीय तहलाई दीर्घकालीन सोचका साथ स्वास्थ्य योजना बनाउन सुझाव दिए।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. अमूल्य दाहालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूले केवल तथ्यांक प्रस्तुतिमा सीमित नभई सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। उनले सरसफाइ, व्यवहार र आचरण सुधारलाई पनि स्वास्थ्य सेवाको अभिन्न पक्षका रूपमा लिन आग्रह गरे।

चिकित्सालय प्रमुख डा. पुनम नेपालका अनुसार पछिल्लो समय आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण उल्लेखनीय रूपमा बढ्दो छ। तर, यस क्षेत्रबारे थप जनचेतना आवश्यक रहेको उनले बताए।

चिकित्सालयले स्त्रीरोग तथा प्रसुति, मानसिक स्वास्थ्य र बालरोग सेवा प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४७.३४ प्रतिशत आर्थिक प्रगति हासिल गरेको जनाएको छ।

यसैबीच, चिकित्सालयले प्रत्येक बुधबार बिहान ‘पथ्य आहार कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको पहलमा सञ्चालित उक्त कार्यक्रममार्फत नागरिकलाई ऋतुअनुसारको आहार–विहार सम्बन्धी जानकारी प्रदान गरिँदै आएको छ।