उम्मेदवार को भन्ने चिन्ता छैन, कांग्रेस जिताउने चिन्ता छ : केन्द्रीय सदस्य अमात्य

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै भएको दावी गरेका छन् ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ द्वारा आयोजित ललितपुर महानगरको वडा नं. २६ र २७ सुनाकोठीको क्रियाशील भेला तथा निर्वाचन परिचालन समितिको वैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अमात्यले अहिलेको अवस्थामा नेपाली कांग्रेसले जित्नु अनिवार्य छ भन्दै देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै भएको भनेका हुन् ।

“उम्मेदवार को व्यक्ति छ भन्ने धेरै चिन्ता हामीलाई छैन, हामीले रुखलाई जिताउने हो, रुख जिते हामी सबै जित्छौं, रुखले हार्दा हामी सबै हार्छौं।” उनले भने ।

ललितपुर क्षेत्र नं. ३ मा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ उम्मेदवार छन् । निष्कलंक छवि र हक्की स्वभाव भएका श्रेष्ठ तर्कशील र क्षमतावान राजनीतिज्ञ मानिन्छन् ।