धादिङको दसकिलो बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुई घाइते

धादिङ । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस, काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बससँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किएको थियो। बसको ठक्करबाट पसलमा क्षति पुगेको छ। सोही पसलमा चिया पिउन बसेका धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए।

पसल नजिकै टिपर रोकेर चिया पिउँदै गरेका तामाङलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका–१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवातर्फ जाँदै गरेको बसमा सवार ८ वर्षीया सफलता पुलामी मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बसका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।