सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा ३२ वर्षीया सुशीला बम्जनको मृत्यु नभई हत्या भएको भन्दै उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
बम्जनलाई आफ्नै सासु, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोप लगाउँदै पीडितका आफन्त र स्थानीय बासिन्दा पाँच दिनदेखि प्रदर्शनरत छन् ।
घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन र नाराबाजी गरेपछि जिल्लाको शान्ति सुरक्षामा चुनौती देखिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीकी प्रमुख स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कमलामाई नगरपालिका–४ को धुराबजार क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेकी छन् ।
आदेशअनुसार तोकिएको क्षेत्रमा साँझ ८:३० बजेदेखि बिहान ६ बजेसम्म आवतजावत, भेला तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
प्रशासनका अनुसार कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणको आवतजावत, कुनै पनि किसिमका भेला, जुलुस तथा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने व्यवस्था गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
हेर्नुस् कर्फ्यु आदेश








