निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न माग

सिन्धुली । इन्धनको लागि आवश्यक पेट्रोलियम पदार्थको लगातार र अप्रत्याशित मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै निर्माण व्यवसायी संघ सिन्धुलीले सरकारको ध्यानाकर्षण गराएको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा डिजेल, पेट्रोल, मट्टितेलसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्नुका साथै अभाव समेत देखिएको उल्लेख छ। यसले निर्माण कार्यमा गम्भीर असर पार्दै उद्योग नै संकटग्रस्त बनेको जनाइएको छ।

यस्तै, क्रसर उद्योगका समस्याले थप दबाब सिर्जना गरेको संघको भनाइ छ। मूल्य समायोजन राष्ट्र बैंकको सूचकाङ्कअनुसार हुने व्यवस्था व्यवहारिक नभएको भन्दै संघले वास्तविक बजार मूल्यअनुसार समायोजन हुन नसक्दा व्यवसायीहरू थप मारमा परेको जनाएको छ।

संघले निर्माण उद्योगलाई ‘आपतकालीन अवस्था’ घोषणा गरी तत्काल राहत दिन, मूल्य समायोजन निर्देशिका–२ छिटो जारी गर्न र सबै ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरेको अध्यक्ष उद्धवप्रसाद दाहालले जनाएका छन् ।