सिन्धुलीमा २८ उम्मेदवारको मनोनयन दर्ता

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १६ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी र क्षेत्र नम्बर २ मा लेखनाथ दाहाल (राजन) उम्मेदवार बनेका छन्। दाहाल यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

नेपाली कांग्रेसबाट उज्ज्वल प्रसाद बरालले क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्। उनी हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता तथा कांग्रेस सिन्धुलीका निर्वतमान जिल्ला सभापति हुन्। नेपाली कांग्रेसबाट क्षेत्र नम्बर २ मा भने सुशील थिङको मनोनयन दर्ता भएको छ ।

नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा प्रदीप कटुवाल र क्षेत्र नम्बर २ मा मनोजजंग थापाले उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्षेत्र नम्बर १ मा रामनारायण अधिकारी दनुवार र क्षेत्र नम्बर २ मा प्राध्यापक डा. मुकुन्द गजुरेलको उम्मेदवारी परेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै क्षेत्रमा उम्मेदवार उठाएको छ। क्षेत्र नम्बर १ मा धनेन्द्र कार्की र क्षेत्र नम्बर २ मा आशिष गजुरेल उम्मेदवार बनेका छन्।
नेपाल मजदुर किसान पार्टीबाट क्षेत्र नम्बर १ मा राजेन्द्र बखुन्छे र क्षेत्र नम्बर २ मा रामेश्वरी कोजु उम्मेदवार छन्।

श्रम संस्कृति पार्टीले क्षेत्र नम्बर १ मा निमबहादुर मोक्तान र क्षेत्र नम्बर २ मा इन्द्र विकलाई उम्मेदवार बनाएको छ।

मंगोल नेसनल अर्गनाइजेशन पार्टीबाट क्षेत्र नम्बर १ मा सोमबहादुर घलान र क्षेत्र नम्बर २ मा शान्तवीर लामाले मनोनयन दर्ता गरेका छन्।

मितेरी पार्टी नेपालबाट क्षेत्र नम्बर २ मा राजन आछामी उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर १ मा सो पार्टीको उम्मेदवारी परेको छैन।

प्रगतिशील लोकतान्त्रिक पार्टीले क्षेत्र नम्बर २ बाट मात्र ३८ वर्षीय निर्मल कुमार स्याङ्तानलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय परिवर्तन पार्टीबाट क्षेत्र नम्बर १ मा सन्तोष कुमार सुनुवार उम्मेदवार छन्।

यसैगरी उज्यालो नेपाल पार्टीबाट क्षेत्र नम्बर १ मा मोतिलाल तामाङ, नेकपा (माओवादी)बाट क्षेत्र नम्बर १ मा सुशील हमाल र क्षेत्र नम्बर २ मा बत्ये बहादुर राई उम्मेदवार बनेका छन्।

स्वतन्त्रतर्फ क्षेत्र नम्बर १ बाट अमृत बहादुर विश्वकर्मा र क्षेत्र नम्बर २ बाट नरहरि पौडेल, महेश्वर दाहाल, खड्ग बहादुर वाइवा, सरोज विक तथा माधव प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब उम्मेदवारविरुद्ध उजुरी, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि सिन्धुलीमा चुनावी गतिविधि थप सक्रिय हुनेछन्।