भक्तपुर २ मा ३२ उम्मेदवारको मनोनयन दर्ता

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट १७ जना र स्वतन्त्र १५ जना गरी ३२ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा दीपशिखाले उम्मेदवारी दर्ता गराएका छन् । मथ्यपुर थिमि-३ निवासी दीपशिखा सो पार्टीका केन्द्रीय नेता एवं वाइसीएल नेपालका इन्चार्ज हुन् ।

नेकपा (एमाले) का तर्फबाट पार्टी सचिव महेश बस्नेतको मनोनयन दर्ता भएको छ । सूर्यविनायक-७ गुण्डु निवासी बस्नेत पूर्वमन्त्री एवं पूर्व प्रतिनिधि सभा सदस्य समेत हुन् । कुनै समय एकै पार्टीका युवा संगठनको अध्यक्ष र इन्चार्ज रहेका सापकोटा र बस्नेतको यसपटक फरक पार्टीबाट प्रतिस्पर्धामा ओर्लिएका छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले भने पत्रकारलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पत्रकार राजिव खत्री र नेपाली कांग्रेसको तर्फबाट पत्रकार कविर राणाले मनोनयन दर्ता गराएका छन् । खत्री न्युज २४ मा आवद्ध थिए भने राणा देशान्तर साप्ताहिकका सम्पादक हुन् ।

नेपाल मजदुर किसान पार्टीका रमेश बैद्य ले उम्मेदवारी दर्ता गराएका छन् । उनी मध्यपुर थिमी-७ का नगदेश क्षेत्रका समाजसेवी समेत हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने बिक्रम थापाको उम्मेदवारी परेको छ । काठमाडौ निवासी थापा अधिवक्ता हुन् ।

नयाँ राजनीतिक दलहरु पनि यहाँ आकर्षित देखिएका छन् ।मंगोल नेसनल अर्गनाइजेसनबाट पेम्बा घलेको उम्मेदवारी परेको छ भने नेपालका लागि नेपाली पार्टीका तर्फबाट राजेश बाडेले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट जितराम लामाले उम्मेदवारी दर्ता गराउँदा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अर्जुन बासुको उम्मेदवारी परेको छ ।

त्रिमुल नेपालका तर्फबाट राकेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने नेपाल जनसेवा पार्टीबाट जानुका पाठक(शोभा पाठक) ले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पनि पत्रकार जन्मदेव जैशीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, नेकपा (संयुक्त) बाट लोककृष्ण दाहाल र जनता समाजवादी पार्टीबाट नवीन श्रेष्ठको उम्मेदवारी परेको छ भने आम जनता पार्टीबाट देवकुमारी साह र नेकपा (माओवादी)का तर्फबाट प्रकाशराज ढुंगेलको उम्मेदवारी परेको बताइएको छ ।

स्वतन्त्र उम्मेदवारका रुपमा क्रमश आनन्द कार्की, मधुप्रकाश साहुखल, श्याम कृष्ण धुख्वा, लक्ष्मी बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीन कुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई अनिता भट्टराई, सबिन महत, प्रदीप कुमार रुपाखेती र मनोज लामाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय बोडेले जनाएको छ ।

निर्वाचन तालिका अनुसार अब उम्मेदवारहरूको शनिबार अन्तिम नामावली प्रकाशन हुने र चुनावी गतिविधि थप तीव्र हुने निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा ३९ मतदान स्थलमा १ सय १४ मतदान केन्द्र छन् । जिल्लाका सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका ओगटेको यस् क्षेत्रमा पुरुष ४८ हजार ७४ र महिला ५० हजार २ सय ७७ गरी कूल ९८ हजार ३ सय ५६ मतदाता रहेका छन् ।