
सिन्धुली। विकास निर्माणका कामहरू ढिलासुस्ती भइरहेका बेला सिन्धुलीमा भने समयअघि नै आयोजना सम्पन्न भएको छ।
पिपलभन्ज्याङ–रामपुर सडक खण्ड अन्तर्गत निर्माणाधीन दुई वटा पुल र कालोपत्रे सडक निर्धारित समयभन्दा अगाडि सम्पन्न भएपछि सम्बन्धित निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको छ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटाले निर्माण व्यवसायीहरूलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरे।
पुल निर्माणतर्फ ‘श्रृजना निर्माण सेवा’ सिन्धुलीका प्रोपाइटर उद्वव प्रसाद दाहाल सम्मानित भएका छन् । उनी निर्माण व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष समेत हुन्।
सडक निर्माणतर्फ भने दिलबहादुर (डिबी) बम्जन र भुपेन्द्र पौडेल सम्मानित भए। पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मी प्रसाद सापकोटाले निर्माण व्यवसायीहरूको दक्षता, व्यवस्थापन क्षमता र प्रतिबद्धताका कारण आयोजना निर्धारित समयभन्दा अगाडि सम्पन्न भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले विकास आयोजना समयमै सम्पन्न हुनु प्रदेश विकासका लागि सकारात्मक संकेत भएको उल्लेख गरे। उनले निर्माण क्षेत्रमा देखिएको जिम्मेवारी, पारदर्शिता र पेशागत इमान्दारिताले आगामी परियोजनाहरूलाई समेत गति दिने विश्वास व्यक्त गरे।
कार्यक्रम घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठ, मातृका भट्टराई, शहरी विकास तथा भवन कार्यालयका प्रमुख किरण कार्की लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यसैबीच, सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित सिम्लेखोला–हायूटार–सोलाभज्याङ सडक खण्ड अन्तर्गत करिब १७ किलोमिटर सडक कालोपत्रे सम्पन्न भई औपचारिक उद्घाटन गरिएको छ। सोही अवसरमा दुई वटा पक्की पुलको पनि उद्घाटन गरिएको छ।
सडक निर्माण कार्य दुई खण्डमा विभाजन गरी सम्पन्न गरिएको हो। सिम्लेखोला–हायूटार खण्डअन्तर्गत १०.२० किलोमिटर सडक ‘श्री जयबाबा गोरख–सारस–बालबोट जेभी, काठमाडौं’ले करिब २४ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको हो।
यस्तै, हायूटार–सोलाभज्याङ खण्डको ६.३० किलोमिटर सडक ‘श्री संजिव–सिन्धुली जेभी’ले करिब १० करोड ८० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
यसै सडक खण्डमा ठाडी खोला र तामाजोर खोलामा ४०–४० मिटर लामो दुई वटा पक्की पुल निर्माण गरिएको छ। दुवै पुल ‘श्रृजना निर्माण सेवा’ले निर्माण सम्पन्न गरेको हो।
सडक र पुल निर्माण सम्पन्न भएसँगै घ्याङलेख गाउँपालिकाबाट जिल्ला सदरमुकाम सिन्धुलीमाढी तथा अन्य क्षेत्रसम्मको आवतजावत सहज भएको छ। यातायात खर्च घट्नुका साथै शिक्षा, स्वास्थ्य तथा बजार पहुँचमा समेत सुधार आउने अपेक्षा गरिएको छ। समयअघि नै आयोजना सम्पन्न हुनु विकास निर्माणमा सकारात्मक अभ्यास भएको सरोकारवालाहरूले बताएका छन्।







