सिन्धुलीमा सशस्त्र समूहद्वारा नेपाल एसबीआई बैंक लुटपाट

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेको समयमा नकाबधारी लुटेरा समूहले बैंकमा लुटपाट मच्चाएका छन् ।

प्रारम्भिक जानकारी अनुसार लुटेरा समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बाँधेको तथा त्यसपछि रकम लुटेर फरार भएका छन् । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

घटनापछि सिन्धुली प्रहरीले तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार लुटपाटमा प्रयोग गरिएको टाटा सूमो गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।

सो क्रममा एक बोरा भरिएको नगद रकमसमेत फेला परेको एक स्थानीय स्रोतले जानकारी दिएको छ, यद्यपि यसबारे प्रहरीको आधिकारिक पुष्टि भने गरीसकेको छैन।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खोजतलास तीव्र पारिएको छ। बनेपाबाट टाटा सूमो चढेर आएका भनिएका लुटेरा समूहले पेस्तोलजस्ता छोटा हतियार प्रयोग गरेका बताइएको छ । घटना पश्चात् उनीहरू नजिकैको जंगलतर्फ भागेको आशंका गरिएको छ।

प्रहरीले सम्भावित क्षेत्र घेराबन्दी गरी व्यापक खोजी अभियान सञ्चालन गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।