काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ। बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी फागुन २१ गते हार्दिक ढंगले लोकतान्त्रिक ढंगले स्वस्थ्य ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ,’ उनले भने, ‘र नेपाली कांग्रेस पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्लतिर लिएर आउँदैछौं।’
नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको उनले बताए । निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले गरे ।
‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरु कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ,’ उनले भने ।
सोमबारको बन्द सत्रले ध्वनि मतले पारित गरेको कार्य विधि अनुसार नयाँ केन्द्रीय समिति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो।
सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन्। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन्। पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ।







