सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण वि.क.को मृत्यु शङ्कास्पद देखिएको आफन्तको आरोप छ। प्रहरीले शौचालयमा आत्महत्या प्रयास गरेका विकलाई उपचारको लागि अस्पताल लगिएको तर बचाउन नसकेको बताए पनि परिवारले घटनामा गम्भीर आशंका व्यक्त गरेको छ ।
परिवारका अनुसार घटनाको स्पष्ट प्रमाण (फोटो/भिडियो) नदेखाइएको र मृत्यु भएपछि मात्र जानकारी दिइएकोले सत्यतथ्य लुकाइएको हुन सक्ने शंका गरिएको छ। मृतककी आमाले हिरासतमा सुरक्षा किन हुन नसकेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएकी छन्।
१६ वर्षीय बालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका वि.क.लाई शुक्रबार सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।
बालिकासँग मृतक विकले प्रेम विवाह गरेको र विवाह सम्बन्ध छुटाउनका लागि बालिका पक्षले जबरजस्ती करणीको मुद्दा दर्ता गरेको बिक परिवारले आरोप लगाएको छ । सोही कारण घटना रहस्यमय भएको परिवारको भनाइ छ।
घटनापछि निष्पक्ष छानबिनको माग गर्दै स्थानीय र परिवारले शव बुझ्न नमानेपछि सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ।







