
भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका अधिवक्ता हरिराम लवजुले प्रतिनिधि सभा सदस्यमा आफू सबैभन्दा योग्य उम्मेदवार भएको दावी गरेका छन् । कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका लवजुले आफ्नो विज्ञता र अनुभवले प्रतिनिधि सभामा जनपक्षीय काम गर्नसक्ने दावी गरे ।
प्रेस सेन्टर भक्तपुरले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा लवजुले भने, “कानुन बनाउने थलोमा कानुन बुझेको ब्यक्ति निर्वाचित भएमात्र जनताको पक्षमा काम हुन्छ ।” सुशासन, सामाजिक न्याय र समृद्धिलाई ब्यवहारमा उतार्न र वर्तमान राजनैतिक एवं कानुनी संकटबाट देशलाई निकास दिन आफू भक्तपुरको असल प्रतिनिधि सावित हुने उनले बताए ।
२०४६ सालको जनआन्दोलनमा सहभागी हुँदा १७ बर्षको कलिलो उमेरमा गोली लागेर गम्भीर घाइते भएको र चरम यातनाका साथ झण्डै दुई महिना जेलनेल भोगेको स्मरण गर्दै उनले त्यसयता पनि जनयुद्ध, जनआन्दोलन र विभिन्न वर्गीय मुक्ति आन्दोलनहरुमा आफूले संघर्षशील जीवन व्यतित गर्दै आएको स्पष्ट पारे ।
भाद्र २३ र २४ मा भएको जेन-जी विद्रोहले उठाएका न्यायोचित माग पूरा गर्न तथा नयाँ र पुरानाबीचको अतिवाद अन्त्य गरी सुशासन र अमनचयन स्थापना गर्न नेपाली कम्युनिष्ट पार्टीले मात्र सक्ने दावी गर्दै उनले क्रान्तिकारी, प्रगतिशील, परिवर्तन र न्यायप्रेमी मतदाताले आफूलाई निर्वाचित गराउने बिश्वास व्यक्त गरे ।
उम्मेदवार लवजुले आफू बिकासको पहल तथा समन्वयकर्ता हुने समेत बताए । कृषि र पर्यटनमार्फत समृद्धिको योजना सार्वजनिक गर्दै उनले दुई फरक भौगोलिक विशेषतायुक्त नगर चाँगुनारायण र भक्तपुरलाई जोडेर बिकास र समृद्धिको नमूना क्षेत्र बनाउने योजना अघि सारे ।
“इतिहासको समृद्ध क्षेत्रमा हामी छौं तर, हाम्रो प्रतिब्यक्ति आय उपत्यकाकै कम छ ।” उनले भने, “यहाँका जनताको आर्थिक , सामाजिक र साँस्कृतिक विकास र उन्नयन मार्फत बैभवशाली गौरवपूर्ण इतिहासलाई फर्काउने र विश्व स्तरीय प्रतिब्यक्ति आय आम्दानीयुक्त बनाउने महान अभियान छेड्नेछु ।”
जनप्रतिनिधिकै कारण भक्तपुर क्षेत्र नम्बर १ लामो समयदेखि केन्द्रसंग जोडिन नसकेको उनले जिकिर गरे । आफू जनताको प्रतिनिधि बनेर प्रतिनिधि सभामा बोल्ने मात्र नभई केन्द्र सरकारसम्म भक्तपुरको पहुँच पुर्याउने र ठुला आयोजना मार्फत यहाँको खानेपानी, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा लगायतका आवश्यकता पूरा गर्न लागिपर्ने स्पष्ट पारे ।
“जनताले खोजेका बखत जनताको घरदैलामा र आवश्यकता पर्दा केन्द्रमा पहुँच पुर्याउन सक्षम उम्मेदवारको रुपमा उभिएको छु।” उनले भने । ख्वप विश्वविद्यालयको सपना पूरा गर्न कानुन संशोधन गर्नुपर्ने र त्यसको लागि केन्द्रीय पहुँच पुर्याउन सक्ने उम्मेदवारको रुपमा आफू निर्वाचित हुने बताए ।
जनताबाट राज्यले सित्तैमा सियो पनि लिन नहुनेमा जोड दिँदै उनले जनताको भूमि लगायत सम्पत्तिमा दोहनको नीति स्थानीय सरकारहरूबाट भएकोले जनता आजित र पिडित भएका बताए । जनताको सम्पति जनतालाई नै फिर्ता गराउन आफू सक्रिय भूमिकामा रहने उनको भनाइ छ ।

सो अवसरमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट समानुपातिक तर्फका उम्मेदवार दिलिप प्रजापति भीष्म, नेताहरू डिपी ढकाल, सुनिल गोठे बासु, श्यामसुन्दर बस्नेत, अन्जना पोखरेल लगायतको समेत उपस्थिति रहेको थियो । नेताहरुले भक्तपुर-१ मा निर्वाचित हुने आधारका रुपमा पार्टीको परिवर्तनकारी एजेन्डा, पार्टी सरकारका रहँदा भक्तपुर-१ मा भएका जनपक्षीय काम र उम्मेदवारको ब्यक्तिगत योग्यतालाई अघि सारे ।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।भक्तपुर र चाँगुनारायण दुई नगरपालिका समेटिएको यस क्षेत्रमा पुरुष ५२ हजार ६६ र महिला ५४ हजार ९ सय ८८ गरी कुल १ लाख ७ हजार ४४ मतदाता रहेका छन् । यो क्षेत्रबाट यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल निर्वाचित भएका थिए ।








