काठमाडौं । जेनजी आन्दोलनको अवसरमा प्रहरी हिरासतबाट फरार भएका एक युवकको नेतृत्वमा उपत्यकामा संगठित लुटपाट भएको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान गोली प्रहार गर्दै १० जनालाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा समूहको मुख्य योजनाकार हिरासतबाट फरार व्यक्ति भएको पुष्टि भएको हो।
डाँका चोरी मुद्दामा पक्राउ परेर प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका काभ्रेको भुम्लु गाउँपालिका–३ का २३ वर्षीय विनय तामाङ जेनजी आन्दोलनको बेला फरार भएका थिए। फरार भएपछि उनले समूह गठन गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध लुटपाट मच्चाएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार विनयकै नेतृत्वमा १० जनाको समूह बनाएर सुनका गरगहना, नगद र मोबाइल लुट्ने कार्य भइरहेको थियो। ‘हिरासतबाट फरार भएका विनय नै यस समूहका मुख्य योजनाकार हुन्’, एसएसपी थापाले भने।
९ घन्टाको अपरेसनपछि १० जना पक्राउ
राति हिँडडुल गर्ने सर्वसाधारण निरन्तर लुटिन थालेपछि प्रहरीमा उजुरी बढेको थियो। सीसी क्यामेरा फुटेज विश्लेषण गर्दा एउटा मोटरसाइकलमा तीन जना सवार भई लुटपाट गर्ने शैली देखिएपछि विशेष अपरेसन सुरु गरिएको प्रहरीले जनाएको छ।
बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ३ बजेसम्म चलेको करिब ९ घन्टाको अपरेसनमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा विनय तामाङसहित समूहमा आबद्ध सिन्धुलीका २४ वर्षीय आयन माझी, सिन्धुपाल्चोकका ३० वर्षीय फुर्बा तामाङ, रामेछापका २२ वर्षीय विशाल तामाङ, काभ्रेका २९ वर्षीय पेमा तामाङ उर्फ टाउके, सिन्धुलीका ३२ वर्षीय सबिन माझी, मोरङका २३ वर्षीय मनिष रसाइली र खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा रहेका छन् ।
चेकिङमा नरोकेपछि गोली प्रहार
मुलपानी क्रिकेट मैदान नजिकै चेकिङका क्रममा प्रहरीले रोक्न खोज्दा विनयले प्रहरीलाई पेल्दै भाग्न खोजेका थिए। सो क्रममा प्रहरीमाथि धक्कामुक्की भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा विनयको खुट्टामा गोली लागेको एसएसपी थापाले बताए। घाइते विनयलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
२७ पटकसम्म लुटपाट, खुकुरी प्रयोग
प्रहरीका अनुसार विनयकै योजनामा स्वयम्भू, बौद्धलगायत उपत्यकाका विभिन्न क्षेत्रमा २७ पटकसम्म लुटपाट भएको पाइएको छ। अहिलेसम्म ४ जनाले मात्र जाहेरी दिएका छन्, तर घटनाको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।
लुटपाटका क्रममा समूहले खुकुरी प्रयोग गर्ने, मोटरसाइकलमा सवार भई छिटो भाग्ने र नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान लुकाउने गरेको पाइएको छ। प्रहरीले लुटपाटमा प्रयोग भएका ६ थान मोटरसाइकल, एक कार, एक ट्याक्सी र खुकुरी बरामद गरेको छ।
दिउँसो रेकी, राति लुटपाट
प्रहरीका अनुसार समूहले दिउँसो कार र ट्याक्सी प्रयोग गरी सम्भावित लक्ष्यको रेकी गर्ने र राति मोटरसाइकलमार्फत लुटपाट गर्ने गरेको थियो। कतिपय अवस्थामा ट्याक्सीका आफ्नै यात्रुहरूलाई समेत निगरानीमा राखेर मौका मिलेपछि लुटपाट गरिएको पाइएको छ।
पक्राउ परेका १० जनामध्ये अधिकांशको नाम सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा पहिल्यै दर्ता रहेको प्रहरीको भनाइ छ। उनीहरूमाथि यसअघि पनि डाँका चोरी, चोरी र लागुऔषधसम्बन्धी मुद्दा चलिसकेको खुलेको छ।







