सरकारको तथ्यांक : झण्डै १५ हजार मानिस अझै बेपत्ता

काठमाडौं । सरकारले बाढी तथा विपद्का घटनापछि देशभर १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित उद्धार अनुरोध पोर्टलमा राखिएको विवरणअनुसार हालसम्म १४ हजार ९ सय ९ जना सम्पर्कविहीन रहेको उल्लेख छ। तीमध्ये २ हजार ४ सय ७३ जना फेला परिसकेका छन्।

पोर्टलको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामै ८ हजार ४ सय १३ जना मानिस सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक गरिएको छ।

बेपत्ता हुनेमा बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा रहेका छन्। तथ्यांकअनुसार हराइरहेकामध्ये १८ वर्षमुनिका ६ सय २७ बालबालिका छन् भने ६० वर्षभन्दा माथिका ३ सय ६९ ज्येष्ठ नागरिक रहेका छन्।

सरकारी तथ्यांकले विपद्पछि ठूलो संख्यामा मानिस अझै परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको देखाएको छ। सरकारले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइरहेको जनाएको छ।