काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरे। उनले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको अवस्था, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चासो व्यक्त गरे।
प्रधानमन्त्रीको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुख सहभागी भएको उनको सचिवालयले जनाएको छ ।




