काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बिपी राजमार्गमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटना आज मंगलबार साँझ करिब साढे ७ बजे भएको हो।
नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको सगुन विद्या मन्दिरको विद्यार्थी बोकेको बा.४ ख ७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आइरहेको बा.७१ प ६८८० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। तर उपचारका क्रममा राती ८:३५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा डिएसपी मिनबहादुर घलेले बताए ।
ज्यान गुमाउने मोटरसाइकल चालक २३ वर्षिय पासाङ तामाङ पछाडि सवार २२ वर्षका बिजय तामाङ दुबैजना नमोबुद्ध नगरपालिका–२ निवासी भएका डिएसपी घलेले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।






