प्रजनन दर घट्दै गएपछि दुई सन्तान जन्माउन प्रोत्साहित गर्दै सरकार

काठमाडौ । नेपाल सरकारले राष्ट्रिय जनसंख्या नीति, २०८२ लाई हालै पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीतिलाई स्वीकृति दिएको हो।

नयाँ नीतिमा प्रजनन दरलाई प्रतिस्थापन तहमा अर्थात् प्रति दम्पती दुई सन्तान जन्माउने सन्तुलित लक्ष्यमा राखी विभिन्न प्रोत्साहन कार्यक्रम तथा सम्बन्धित नीतिहरू परिमार्जन गर्ने व्यवस्था गरिएको छ। हाल नेपालको प्रजनन दर १.९३ छ, जुन प्रतिस्थापन तहभन्दा कम हो। कम्तिमा पनि यो दर २.१ भन्दा बढी हुनुपर्ने बताइन्छ ।

जनसंख्या नीतिले दुई सन्तान जन्माउने दम्पतीलाई राज्यबाट प्रोत्साहन दिने योजना अघि सारेको छ। त्यस्तै वृद्ध हुँदै गएको जनसंख्याको हेरचाह, सेवा र सामाजिक सुरक्षा सुनिश्चित गर्न नयाँ कार्यक्रमहरू समेटिने ब्यवस्था गरिएको छ  

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका अनुसार, संघीयता, प्रविधिको विकास, सामाजिक न्यायका चासोहरू र जनसंख्याको परिवर्तनशील संरचना जस्ता विषयलाई ध्यानमा राखेर नीति ल्याइएको छ हो ।

“जनसंख्या वृद्धिदर ऋणात्मक नहोस् र त्यसको असर दीर्घकालीन विकासमा नपरोस् भनेर हामीले नीति परिवर्तन गरेका हौं,” मन्त्री पौडेलले स्पष्ट पारे। 

प्रजनन दर भनेको के हो?

प्रजनन दर (Fertility Rate) भन्नाले एउटी महिलाले आफ्नो जीवनकालभरमा औसतमा कति सन्तान जन्माउछिन् भन्ने संख्या हो ।अर्थात्, एउटी महिलाले औसतमा कति बच्चा जन्माउँछिन् भन्ने कुरा नै प्रजनन दर हो।

यदि कुनै देशको प्रजनन दर २.१ छ भने त्यो देशको जनसंख्या स्थिर हुन्छ अर्थात, न घट्छ न त बढ्छ नै । यही अवस्था हो “प्रतिस्थापन दर” ।

यदि प्रजनन दर २.१ भन्दा कम भयो भने, बिस्तारै त्यो देशको जनसंख्या घट्दै जान्छ। २.१ भन्दा बढी भयो भने बिस्तारै जनसंख्या बढ्दै जान्छ ।

नेपालमा अहिलेको प्रजनन दर १.९३ छ आर्थात, प्रतिस्थापन दरभन्दा कम छ । केही वर्ष अघि यो दर ४ बाट घट्दै अहिलेको अवस्थामा आउनुको अर्थ: भविष्यमा नेपालमा जनसंख्या घट्ने सम्भावना छ।

आर्थिक योजना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता नीतिहरू बनाउँदा जनसंख्याको आकार बुझ्न यो दर आवश्यक हुन्छ। जनसंख्या घट्नु पनि देशको लागि राम्रो मानिदैन ।