ललितपुर । नेपाली कांग्रेसजस्तो पुरानो र स्थापित राजनीतिक दलको सदस्यतासहित निर्वाचित वडा सदस्य पद समेत परित्याग गर्दै युवा नेता रोम प्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै अरु दर्जनौं युवाहरू पनि रास्वपामा आवद्ध भएका छन्।
दाहाल ललितपुरको बागमती गाउँपालिका-४ का निर्वाचित जनप्रतिनिधि हुन् । उनले गाउँपलिका अध्यक्षलाई पत्र लेख्दै पदबाट राजीनामा दिएका थिए । यसैबीच उनी रास्वपा प्रवेश गरेको कुरा बाहिर आएको छ ।
रास्वपा ललितपुरका नेता कल्याण केसीले सोकुरा पुष्टि गरेका छन् ।
उनले लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै रास्वपाको यात्रामा दाहाल लगायतका युवाहरूको आगमनले थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरे।
राजनीतिक रूपमा सक्रिय र सामाजिक मुद्दाप्रति संवेदनशील रहेका युवा पुस्ता पछिल्लो समय परम्परागत दलप्रति मोह घटाउँदै वैकल्पिक राजनीतिक धारको खोजीमा लागेका छन्। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा जेलमा रहेपनि युवाहरूको रास्वपामा आकर्षण कायमै देखिएको छ ।







