बनेपामा विशेष साहित्यिक गोष्ठी तथा अन्तर्क्रिया

काभ्रेपलान्चोक । प्रगतिशील लेखक सङ्घ काभ्रेले आयोजना गरेको विशेष साहित्यिक गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम शनिबार बनेपामा उत्साहपूर्वक सम्पन्न भयो।

सङ्घका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’को अध्यक्षता र प्रलेसका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द श्रृङ्खलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई थप जीवन्त बनाएको सहभागीहरूले बताएका छन्।

बनेपा–८ स्थित शिक्षक सङ्गठनको सभाहलमा प्रत्येक महिनाको अन्तिम शनिबार हुने नियमित सृजनात्मक जमघटका यसपटकका ‘स्रष्टा विशेष’ बनेपा–३ निवासी लेखक विश्व सिग्देल रहेका थिए।

उनले आफ्ना कृति ‘तालिको समाजशास्त्र’, ‘असेसन कथासङ्ग्रह’, ‘द प्रिमोडियल सङ अफ लभ’ तथा साहित्यिक पत्रिका ‘अकाल कुसुम’ मार्फत समाज, मनोविज्ञान र मानवीय संवेदनालाई गहिरो रूपमा उतारिएको बताए। उनले ‘तालिको समाजशास्त्र’मा समावेश कविताहरू पनि वाचन गरेका थिए।

प्रमुख अतिथि गोविन्द श्रृङ्खलाले साहित्यलाई “समाजको दर्पण मात्र होइन, दिशानिर्देशन गर्ने शक्ति” ठहर गर्दै काभ्रेका सर्जकहरूले प्रगतिशील दृष्टिकोणमार्फत सिर्जनशीलताको नयाँ उचाइ तय गरिरहेको भन्दै प्रशंसा गरे। “यस्ता कार्यक्रमहरूले सर्जकलाई ऊर्जा, प्रेरणा र अनुशासन प्रदान गर्छन्,” उनले भने।

कार्यक्रममा रमि प्रिया, चन्द्र बहादुर लामा, केशवराज पौडेल, संजय सुमन, डी.पी. आत्रेय, बलराम विष्ट, सौगात घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाई, रामसुन्दर देउजा, केशव घिमिरे, सुसिला विष्ट, श्रीकृष्ण पाण्डे, मुरहरी रायमाझी, रक्तिम लामा, शुभद्रा अधिकारीलगायतका स्रष्टाहरूले कविता, मुक्तक र अन्य विधाका रचनाहरू प्रस्तुत गर्दै माहोललाई साहित्यिक उर्जामय बनाए।

कार्यक्रमको सञ्चालन सङ्घका सचिव दिनेश राज खरेलले गरेका थिए। संस्था अध्यक्ष रक्तिम लामाले काभ्रे प्रलेसले आगामी महिना पनि कार्यक्रम निरन्तरताका साथ आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

दर्जनौँ साहित्यकारको उपस्थिति, सृजनात्मक प्रस्तुति र अन्तर्क्रियाले यो महिनाको गोष्ठी अत्यन्त सफल र प्रभावकारी भएको सहभागीहरूको भनाइ छ ।