लाङटाङ घुम्न आएका भक्तपुरका चारजना सम्पर्कबिहीन, खोजी जारी

रसुवा । गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना सम्पर्कबिहीन बनेका छन् ।

भक्तपुरबाट लाङटाङ घुम्न आएका १६ जनाको टोलीमध्ये ४ जनालाई खोल्साले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाङटाङतर्फ जाने क्रममा बाढीमा परी उनीहरू सम्पर्क बिहीन बनेका हुन् ।

सम्पर्क बिहीन हुनेहरूमा भक्तपुरको सूर्यविनायक-४ हर्ष चोक बस्ने सस्कृती श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का रवि श्रेष्ठ रहेका बताइएको छ । उनीहरू सबै २० देखि २५ वर्षका छन् ।

उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्यले जानकारी गराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ । १६ जनाको समूह संगै गएको भएपनि ढिला हिड्ने चारजनाको समूह बाढीमा फसेको बताइएको छ । उक्त स्थानमा सवारी मार्ग नरहेकाले खोजी कार्यमा ढिलाइ भएको छ ।

अपडेट

सम्पर्क बिहीन भएका तीनजना एकैपरिवारका रहेका छन् । रामेछापको दोरम्बा शैलुङ -७, पाङ्चेत स्थायी ठेगाना भइ हाल भक्तपुरमा बसोबास गर्ने कृष्ण बहादुर श्रेष्ठ र सरिता श्रेष्ठका ३ सन्तानहरु सकृति श्रेष्ठ, किशन श्रेष्ठ, सनिता श्रेष्ठ रसुवामा घुम्न जाँदा सम्पर्क बिहीन भएका सो क्षेत्रका प्रदेश सांसद युवराज चौलागाईंले जानकारी गराएका छन् । रामेछापबाट श्रेष्ठ परिवार भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित हर्ष चोकमा बस्दै आएका बताइएको छ ।

भक्तपुर नगरपालिका-१० का रवि श्रेष्ठसहित रसुवाको लाङटाङ पदयात्रामा जांदै गर्दा बेरिङ खोल्साको बाढीमा परी उनीहरू बेपत्ता भएका हुन् ।

बेपत्ताहरुको खोजीका लागि रसुवाका जनप्रतिनिधि तथा प्रशासनसंग समन्वय गर्दै खोजी कार्य जारी रहेको चौलागाईंले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजीमा लाग्न उनले स्थानीयसंग अनुरोध समेत गरेका छन् ।