पहिरोमा पुरिँदा इलाममा गयो ८ जनाको ज्यान

इलाम । पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छिमेकी रेवज तामाङले जानकारी दिए ।

यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका-६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

यस्तै, सन्दकपुर गाउँपालिका-३, सुलुबुङमा एकजना, माङ्सेबुङ गाउँपालिका-१ मा १ गर्भवती महिला र १ पुरुष गरी २ जना गम्भीर घाइते छन् ।

उता इलामकै फाकफोकथुम-३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ मानेभन्ज्याङ, देउमाईसहित इलाम नगरपालिकाका विभिन्न स्थानमा पहिरोले पुरिँदा केही नागरिक बेपत्ता भएका छन्  ।

स्थानीयका अनुसार यी स्थानमा १५ जना बेपत्ता भएको बताएका छन् । पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।