ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नेपालीका घरघरमा सुरक्षित खानेपानी पुर्याउने सरकारको दृढ संकल्प रहेको बताएका छन्। शनिबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले खानेपानीकै अभावमा कतिपय ठाउँमा मानिसहरूलाई बसाई सर्नुपर्ने अवस्था अन्त्य गरिने स्पष्ट पारे।
“अब नागरिकलाई बस्ती सार्नुपर्दैन, अधुरा आयोजना पूरा गरेर सबैलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउँछौँ,” मन्त्री यादवले भने। उहाँका अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सबै नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने र सरसफाइमा लगानी बढाउने लक्ष्य लिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठका अनुसार श्रीअन्तु सामालबुङ आयोजना अन्तर्गत सूर्योदय नगरपालिका–४ र ५ का झन्डै २,१३४ घरपरिवार र ११,७६९ जनसंख्या लाभान्वित हुनेछन्। आयोजना सिद्धी खोला र श्रीअन्तु खोलाबाट पानी संकलन गरेर पम्पिङ र ग्राभिटी प्रणालीमार्फत वितरण गरिनेछ। कुल लागत ३७ करोड ७२ लाख रुपैयाँ रहेको आयोजना १५ वर्षको सेवा अवधिका लागि डिजाइन गरिएको र भविष्यको जनसंख्या वृद्धिसमेत ध्यानमा राखिएको श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, कोशी प्रदेशसभा सुसासन तथा योजना समितिकी सभापति खगेश्वरी पौडेल, पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगर प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलगायत स्थानीयको उपस्थिति थियो। आयोजना २०७८/७९ सालदेखि सुरु भई अहिले सम्पन्न भएको हो।