भक्तपुरमा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।

बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले जनाएका छन् ।

Krishnaprasad Sharma
Krishnaprasad Sharma

आइतबार सामाजिक संजाल प्रयोगकर्ता र केही अनलाइन सञ्चार माध्यममा सूर्यविनायक-७ स्थित काठमाडौ वर्ल्ड स्कूलका विद्यार्थीले परीक्षा अगावै प्रश्नपत्र पाएको दावी गरेपछि परीक्षा बोर्डले अनुसन्धान गर्दा त्यो सूचना सत्य नभएको पुष्टि भएको परीक्षा नियन्त्रक शर्माले प्रष्ट पारे ।

“जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारी एवं प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा बोर्डको आइटी शाखाका कर्मचारीसहित परीक्षा केन्द्रमा पुगी छानवीन गर्दा प्रेषित सूचना भ्रामक र गलत भन्ने पुष्टि भयो ।” परीक्षा नियन्त्रक शर्माले ननस्टपखबरसंग भने ।

केही सामाजिक सञ्जालमा पुराना र प्रयोगमा नआएका प्रश्नपत्रहरु राखेर भ्रम फैलाउने प्रयास भएको पाइएकाले त्यसविरुद्ध कानुनी कारबाही गरिने पनि नियन्त्रक शर्माले चेतावनी दिएका छन् ।

काठमाडौ वर्ल्ड स्कूलका परीक्षार्थीले परीक्षा अगावै प्रश्न पत्र पाएको भनिएपछि प्रमुख जिल्ला अधिकारी अर्यालसहितको टोली नयाँ ठिमीस्थित परीक्षा केन्द्र चाणक्य कलेज पुगेको थियो ।

आइटी बिज्ञहरुले परीक्षार्थीको मोबाइलसमेत जाँच गर्दा पुराना नमूना प्रश्नपत्रहरु मात्र भेटिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालसहितको टोलिले सिसीक्यामेरा मार्फत विद्यार्थीको परीक्षा अघिको गतिविधि समेत अनुसन्धान गरेका थिए ।

४ सय ९४ परीक्षार्थी रहेको चाणक्य कलेजमा काठमाडौ वर्ल्ड स्कुल संगै एसओएस, अरनिको, निकल्सन र जेनिथ स्कूलका परीक्षार्थी सामेल रहेका उप परीक्षा नियन्त्रक कृष्ण घिमिरेले बताएका छन् । घिमिरेले भक्तपुरमा १७ परीक्षा केन्द्र रहेका पनि जानकारी गराएका छन् । 

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्ने भ्रामक सूचनाले विद्यार्थीको मनोबलमा नकारात्मक असर पर्ने भएकाले आम सर्वसाधारणलाई त्यस्ता गतिविधिबाट टाढा रहन परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आग्रह गरेका छन् । परीक्षालाई मर्यादित र शान्तिपूर्ण सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

Dr Mahashram Sharma
Dr Mahashram Sharma

आइतबारबाट शुरु परीक्षामा १ हजार ५ सय ९१ केन्द्रबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सामेल छन् । परीक्षा जेठ २ मा सकिने परीक्षा तालिका रहेको छ ।