बाढीपीडितलाई नक्कली सहयोग गरी प्रचार गर्ने रास्वपा कार्यकर्ता पक्राउ

रामेछाप । बाढीपीडितका लागि १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउन रामेछापका एक रास्वपा कार्यकर्ताले कृत्रिम बौद्धिकता (एआई) को च्याट जिपिटी प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापले जनाए अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको च्याट जिपिटीको प्र्योग गरी नक्कली स्टेटमेन्ट तयार पारी सामाजिक सञ्जालमा पोस्ट गर्ने रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन् । पक्राउ परेका कार्की सत्तारूढ दल रास्वपाका सक्रिय कार्यकर्ता हुन् । उनी प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारका तर्फबाट मतदान केन्द्रको प्रतिनिधि समेत रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै कार्कीले च्याट जिपिटीको प्रयोग गरी १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखिने नक्कली स्टेटमेन्ट तयार पारेका जनाएको हो । त्यसमा आफ्नो क्यूआर कोडसमेत राखेर उनले सामाजिक सञ्जालमा प्रचार गरेपछि उनी प्रहरी फन्दामा परेका हुन् ।

यस घटनाले नेपालमा पनि एआईको प्रयोग गरेर नक्कली वित्तीय प्रमाण तयार पारेर ठगी गर्न खोज्ने नयाँ जोखिम देखा परेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरक्षक कमल राउतले कार्की उपर थप अनुसन्धान भइरहेको जनाएका छन् ।