काभ्रे । काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फुटाई नगद ७० हजार चोरी फरार भएको घटनाको करिब अढाई वर्ष पछि काभ्रे प्रहरीले एक अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
अभियुक्त काभ्रेकै खानीखोला-७ का ३० वर्षिय रविन खुलाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटिका चोरीको घटनामा पक्राउ परी खुलाल रामेछाप कारागारमा थिए ।
उनको खोजीमा रहेको काभ्रे प्रहरीले खुलाललाई काभ्रे ल्याइ बयान लिएको र अभियुक्तले अपराध स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
पलान्चोक भगवतीको मन्दिरमा रहेको दानपेटिका चोरी गरेका खुलाललाई अन्य मन्दिरको दानपेटिका चोर्न हिम्मत बढेको थियो । चोरको हात भन्दा कानुनको हात लामो हुन्छ भन्ने कुरा लामो समयपछि उनलाई पक्राउ गरी प्रहरीले पुष्टि गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।