काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवा बाढीपछि नेपाल रेडक्रस सोसाइटीले गरेको तत्कालीन उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै प्रभावितका लागि थप सहयोगमा सरकार र रेडक्रसबीच सहकार्य गर्ने बताएकी छन्।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भेटघाट तथा छलफलमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै मनोसामाजिक परामर्श र पारिवारिक पुनर्स्थापनाका कामलाई समेत प्राथमिकता दिन आग्रह गरे।
रेडक्रसका अध्यक्ष विशालकुमार भण्डारीले सरकारी क्लस्टरअनुसार प्रभावित क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको जानकारी दिए।
महामन्त्री ऋषिरमण खनालले सरकार, अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी), अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी), साझेदार राष्ट्रिय सोसाइटी तथा अन्य निकायसँगको सहकार्यमा बाढी प्रतिकार्य भइरहेको बताए।
आईएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै चीन रेडक्रससहित अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको जानकारी दिए।
रेडक्रसले बाढी प्रभावित क्षेत्रमा हालसम्म २ हजार त्रिपाल, १ हजार कम्बल, १ हजार म्याट्रेस, ५ हजार स्वच्छता किट, १ हजार ७९० शव व्यवस्थापन ब्याग, ५५ प्राथमिक उपचार बाकस, ५० स्ट्रेचर र १५ टेन्ट लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ।
उद्धार, शव व्यवस्थापन, अस्थायी आवास तथा खाना वितरण लगायतका काममा ५ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको रेडक्रसले जनाएको छ।






