चट्टानमा कोरिएको इतिहास जोगाउन चाँगुनारायणमा विशेष कार्यक्रम हुने

भक्तपुर । इतिहासका महत्वपूर्ण घटनालाई चट्टानमा कुँदेर सुरक्षित राखिएका अभिलेखहरू पुरातात्विक अध्ययनका महत्वपूर्ण पाठशाला मानिन्छन् । भक्तपुरको यस्तै ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चट्टानी अभिलेखको संरक्षण र प्रचार–प्रसारमा स्थानीय मिडिया र अभियन्ता जुटेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीको हलालगाउँस्थित चट्टानी अभिलेख स्थलमा जनसञ्चार टेलिभिजनको आयोजनामा बृहत् वृक्षारोपण तथा सामाजिक व्यक्तित्व सम्मान कार्यक्रम आयोजना हुने भएको हो । चट्टानमा कुँदिएको अभिलेख केवल ढुंगामा लेखिएको अक्षर नभई तत्कालीन समय, समाज र इतिहासको बकपत्र भएकोले यसको संरक्षण र प्रचारका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक अभियन्ता प्रेमध्वज लामा (मोक्तान)ले बताए ।

“भक्तपुरको ऐतिहासिक अभिलेखलाई संरक्षण गर्न
वृक्षारोपण गर्ने र विभिन्न विधामा योगदान पुर्याएका ब्यक्तित्वलाई सोही स्थानमा सम्मान गरी ऐतिहासिक सम्पदा संरक्षण र प्रचारप्रसारमा योगदान गर्ने लक्ष राखिएको छ ।” संयोजक लामाले भने ।

कार्यक्रम मंगलबार बिहान ७ बजे चाँगुनारायण नगरपालिका–९, ताथलीको हलालगाउँस्थित चट्टानी अभिलेख परिसरमा हुने आयोजक जनसञ्चार टेलिभिजनका प्रमुख सुरेशकुमार सायजूले बताएका छन् ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का प्रमुख अतिथि रहने कार्यक्रममा पुरातात्विक संरक्षणदेखि स्वास्थ्य, शिक्षा, सञ्चार, कानुन, खेलकुद र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान समेत गरिने उनले बताए ।

ऐतिहासिक चट्टानी अभिलेखको संरक्षणसँगै त्यसको महत्वबारे जनचेतना फैलाउन र स्थानीय समुदाय, इतिहासका शोधार्थी र सम्पदाप्रेमीलाई संरक्षण अभियानमा जोड्न कार्यक्रम उपयोगी रहने सञ्चारकर्मी अञ्जीर सिंह विक बताउँछन् । त्यस्तै, स्थानीयसमेत रहेका प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष मदन ढुङ्गानाले यस्ता कार्यक्रमबाट ताथली क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास ब्यक्त गरेका छन् ।