काठमाडौँ । त्रिशूली नदीमा बाढीको बहाब बढ्दा धादिङको गल्छीमा चार वटा घरहरू बगाएका छन्।
आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीसम्म बाढीको बहाब बढ्दा चारवटा घरहरू बगाएको गल्छी गाउँपालिका-४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए।
उनका अनुसार गल्छी-४ चिरौँदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएका हुन्।
स्थानीय कर्णबहादुर मगरको पक्की घर र रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको ब्लकले बनेको घर बगाएको छ,’ वडाध्यक्ष अधिकारीले भने। ती घरहरू बुधबारको बाढीले क्षतिग्रस्त थिए।
सोही ठाउँमा विष्णुबहादुर मगरको घर पनि जोखिममा परेको छ। तटीय क्षेत्रमै रहेको रामशरण राई र श्यामलाल श्रेष्ठको घर पनि नदीको बहाब बढेसँगै जोखिममा रहेको वडाध्यक्ष अधिकारीले जानकारी दिए।
नदीले बेल्खुमा सडकतर्फ कटान गरिरहेको पनि उनले बताए। ‘अहिले हामी स्थानीयहरूलाई सतर्कता अपनाउन भनिरहेका छौं,’ उनले भने।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रसुवा क्षेत्रमा भोटेकोशीको बाढीको बहाब बढेपछि नुवाकोट, धादिङ र चितवनमा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ।
रसुवामा बिहानीपख बाढीको ठूलो आवाज आएको भनेर त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताएका थिए।






