
काठमाडौं । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यसहित गरिएको प्रभावकारी प्रहरी अनुसन्धानमार्फत उल्लेखनीय योगदान पुर्याएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलाई २०८२ साल पौष महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषित गरिएको छ।
प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्ने, अनुसन्धान कार्यलाई नतिजामुखी बनाउने तथा आम नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा निरीक्षक श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
श्रेष्ठले अपराध अनुसन्धान, सार्वजनिक सुरक्षाको सुदृढीकरण र नागरिक–मैत्री प्रहरी सेवामा देखाएको सक्रियता र व्यावसायिकताले प्रहरी संगठनको छवि सकारात्मक बनाएको उल्लेख गरिएको छ। प्रहरी प्रशासनले उनको कार्यशैलीलाई अन्य प्रहरी कर्मचारीका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएको छ।
“Police of The Month” कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्दै संगठनभित्र कार्यसम्पादनमा प्रतिस्पर्धा, उत्तरदायित्व र व्यावसायिकता अभिवृद्धि गर्ने लक्ष्य लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जनाएका छन् ।








