एसएसपी बोगटी भन्छन्, “साइबर अपराध प्रहरी र समाज दुवैका लागि चुनौती भयो”

hobinda bogati

ललितपुर । ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले नागरिकले घरमै बसेर प्रहरी सेवाबाट लाभ लिन सक्ने वातावरण बनाउन लागिपरेको जानकारी दिएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रहरीले सम्पादन गरिरहेका कामकारवाहीबारे जानकारी दिंदै कानूनी राज्यको प्रत्याभूति दिन कुनै कमी नगर्ने प्रतिबद्धता जनाए। उनका अनुसार प्रहरी र नागरिक समाजका दुई पाङ्ग्रा हुन्।

बोगटीले सामाजिक सञ्जालमा युट्युब र टिकटकमार्फत फैलिने गलत सूचनाले समस्या सिर्जना गरिरहेको उल्लेख गर्दै ‘भ्युज’ र ‘सबसक्राइब’ बढाउने नाममा समाजमा नकारात्मक प्रभाव पार्ने कार्य नगर्न आग्रह गरे। उनले गलत सूचनाले नकारात्मक सोच बढाउँदै आन्दोलनको वातावरणसम्म सिर्जना गर्ने बताए।

उनका अनुसार पछिल्लो समय बढ्दै गएको साइबर अपराध प्रहरी र समाज दुवैका लागि चुनौती बनेको छ। नागरिक सचेतनाले मात्र यस समस्याबाट मुक्ति पाउन सकिने उनको भनाइ थियो।

बोगटीले सूचनाको कारणले प्रहरी र पत्रकारबीच निकट सम्बन्ध रहने बताए। उनका अनुसार अनुसन्धानमा प्रभाव नपार्ने सूचना लुकाउनु आवश्यक छैन। उनले सञ्चारमाध्यम र प्रहरी दुवैको उद्देश्य समाजमा शान्ति र सचेतना ल्याउने भएकोले पत्रकारिताले देश र सुरक्षामा असर पार्ने काम नगर्न आग्रह गरे।

सामाजिक सञ्जालका कारण आत्महत्या, पारिवारिक विग्रह र सम्बन्ध विच्छेदका घटना बढ्दै गएको बताउँदै उनले सामाजिक सद्भाव कायम राख्न पत्रकारितामार्फत सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार नेपालमा सामाजिक सञ्जाल प्रयोगमा विश्वका धेरै लोकतान्त्रिक मुलुकभन्दा बढी स्वतन्त्रता देखिन्छ, जसले अपराध नियन्त्रणमा चुनौती थपेको छ। जेनजेड आन्दोलनपछि सर्वसाधारणमा केही त्रास उत्पन्न भए पनि प्रहरी र जनताको सम्बन्ध अझ प्रगाढ बनेको उनले बताए।

ललितपुरमा २१ थान हतियार लुटिएकोमा १५ थान जलेको र दुई थान अझै फेला पर्न बाँकी रहेको जानकारी दिँदै उनले शान्ति–सुरक्षा सुदृढ बनाउन निरन्तर प्रयास भइरहेको बताए। बाँडेगाउँ र इमाडोल प्रहरी प्रभाग पुनर्निर्माणको तयारीमा रहेको पनि उनको भनाइ थियो।

उनी अनुसार ललितपुर संस्कृति, सम्पदा र भाषाको दृष्टिले विश्वमै परिचित भएकाले यसको गरिमा जोगाउँदै शान्ति र सुरक्षाको वातावरण बलियो बनाउन प्रहरी सक्रिय छ।

जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार गत एक महिनामा जिल्लामा १ सय २१ वटा मुद्दा दर्ता भएका छन्, जसमा ८१ वटा फर्छ्योट हुन बाँकी छन्। गत वर्षको तुलनामा २० प्रतिशत मुद्दा घटाउने लक्ष्यसहित प्रहरीले उजुरीका पक्षहरूलाई छलफलमार्फत समाधान गर्न प्रयास गरिरहेको उनले जानकारी दिए।