प्रहरीले ५० लाखसम्म घर कर्जा पाउने, यस्ता छन् अन्य सुविधा

काठमाडौं । नेपाल प्रहरीले आफ्ना बहालवाला तथा अवकाशप्राप्त कर्मचारीका लागि ५० लाख रुपैयाँसम्मको घर कर्जासहित विभिन्न बैंकिङ सुविधा पाउने भएको छ। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको नयाँ समझदारीअनुसार प्रहरी कर्मचारीले घर, गाडी तथा शैक्षिक कर्जासहित बीमा सुविधासमेत प्राप्त गर्नेछन्।

सम्झौताअनुसार बहालवाला प्रहरी कर्मचारी तथा अवकाशप्राप्त, अमर/सहिद र अशक्त प्रहरी कर्मचारीले अधिकतम ५० लाख रुपैयाँसम्मको घर कर्जा लिन सक्नेछन्। यस्तो कर्जाको अवधि बढीमा २० वर्षसम्म हुनेछ। अवकाशप्राप्त, अमर/सहिद तथा अशक्त प्रहरी कर्मचारीका लागि भने राष्ट्रिय वाणिज्य बैंकमै पेन्सन खाता हुनुपर्ने व्यवस्था गरिएको छ।

सवारीसाधन खरिदका लागि सातदेखि १० वर्ष अवधिको गाडी कर्जा पनि उपलब्ध हुनेछ। यस्तै, शैक्षिक कर्जाको सुविधा पनि सम्झौतामा समेटिएको छ। घर कर्जामा एक प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर कायम गरिएको छ।

यसअघि भएको तलबी खाता सञ्चालनसम्बन्धी सम्झौताको अवधि समाप्त भएपछि नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच थप सुविधासहित पाँच वर्षका लागि नयाँ समझदारी भएको हो। यसअघि तलबी खाता सञ्चालनसम्बन्धी सम्झौता १० वर्षका लागि गरिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।

नयाँ सम्झौताले प्रहरी कर्मचारीको तलबी बचत खाता सञ्चालनसँगै अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारका लागि पेन्सन वितरण र विभिन्न कर्जा सुविधालाई समेत समेटेको छ। यसअघि बैंकले प्रहरी कर्मचारीलाई बिना धितो १५ लाख रुपैयाँसम्म ‘पेसाकर्मी सरल कर्जा’ तथा पेन्सनरलाई पाँच लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।

प्रहरी कर्मचारीको दुर्घटनामा परी मृत्यु वा पूर्ण अपाङ्गता भएमा पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए।

प्रहरी महानिरीक्षक कार्कीले नयाँ समझदारीबाट अहोरात्र सेवामा खटिने प्रहरी कर्मचारीलाई जिम्मेवारी निर्वाह गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनले अवकाशप्राप्त, अमर तथा अशक्त प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारले पनि सरल तथा सहज रूपमा बैंकिङ र कर्जा सुविधा पाउने बताए।