नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिह्न लगाए

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बुधबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन । दर्ज्यानी चिह्न लगाएपछि कार्कीले जनअपेक्षा अनुसार काम गर्दै प्रहरी संगठनको मनोबल उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

“म संगठनको अनुशासन, जवाफदेहिता र जनविश्वासका आधारमा काम गर्नेछु,” कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “प्रहरीलाई जनताको सुरक्षासँग जोडिएको सेवा संस्थाको रूपमा अझ सक्षम र उत्तरदायी बनाउने लक्ष्य लिएको छु ।”

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक देखि अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि नेपाल प्रहरीको नेतृत्व कार्कीले सम्हालेका हुन । कात्तिक २५ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्कीले नेतृत्व सम्हालेसँगै प्रहरी संगठनमा नयाँ कार्यशैली र नीतिगत सुधारको अपेक्षा गरिएको छ । प्रहरी स्रोतका अनुसार उनले सेवा वितरणमा पारदर्शिता, प्रविधिमैत्री प्रणाली र जनमुखी प्रशासनलाई प्राथमिकता दिने बताइएको छ ।