भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको संयुक्त बैठक भक्तपुरमा बस्ने भएको छ । बैठकलाई शुक्रबार अपराह्न भक्तपुरको नगरकोटमा पार्टीका केन्द्रीय कार्यावाहक सभापति पूर्णबहादुर खड्का र बागमती प्रदेशका मुख्य मन्त्री समेत रहेका प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शनिबारसम्म चल्ने बैठकका लागि नयाँ थिमिको शंखधर चोक हुँदै सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा भेला भइ मोटरसाइकल र्याली सहित कार्यक्रमस्थल नगरकोटको होटल चौतारीमा पुग्ने तयारीमा नेताकार्यकर्ता रहेका छन् ।
बदलिएको वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी महाााधिवेशन र प्रतिनिधि सभाको निर्वाचनलगायत विषयमा विस्तृत छलफल गर्न दुईदिने बैठक बोलाइएको भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । बैैैठकले सो विषयमा आधिकारिक धारणा तय गर्ने उनले बताए ।
बैठकका लागि आतिथ्यता र ब्यवस्थापनका लागि बागमती प्रदेशका पूर्वमन्त्री एवं भक्तपुर कांग्रेसका नेता कृष्णलाल भडेलको संयोजकत्वमा एक समिति बनाइएको छ ।
बैठकले नेपाली कांग्रेस बागमती प्रदेश संगै सबै जिल्लालाई थप क्रियाशील बनाउन कार्यक्रम निर्माण गर्ने र संगठनात्मक सुदृढीकरणका लागि महत्वपूर्ण निर्णय लिने संयोजक भडेलको भनाइ छ ।







