पाँच प्रहरी नायव महानिरीक्षकले पाए दर्ज्यानी चिह्न

काठमाडौ ।  नेपाल सरकार गृहमन्त्रालयको कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना अधिकृतहरू दर्ज्यानी चिन्ह पाएका छन्।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित समारोहमा ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिए।

दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहेका छन्।

समारोहमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठनप्रति समर्पणकै कारण पदोन्नति भएको बताउँदै परम्परागत सोच र कार्यशैलीलाई समयानुकूल परिवर्तन गर्न आग्रह गरे ।

खापुङ्गले वर्तमान संवेदनशील परिस्थितिमा प्रहरी कमाण्डरको भूमिका प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी बन्नुपर्ने बताए।

उनले विगतका घटनाको मूल्याङ्कन गर्दै आगामी चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी परिचालनमा ध्यान दिन निर्देशन दिए ।