शहीदपत्नी एवं बागमती प्रदेशकी पूर्वमन्त्री जोन्छेंको निधन

भक्तपुर । नेपाली कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सरकारकी पूर्व मन्त्री रजनी अमात्य जोन्छेंको निधन भएको छ ।

उपचारको क्रममा मंगलबार बिहान मध्यपुर अस्पतालमा ७७ वर्षको उमेरमा जोन्छेको निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।

उनी नेपाली कांग्रेस भक्तपुरको पूर्व सभापतिसमेत रहेका शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । ललितपुरको पाटनमा जन्मिएकी उनले २०३५ सालमा भक्तपुरका जोन्छेसंग विवाह गरेकी थिइन् ।

जागीरे जीवन बिताएकी उनी २०६२-६३ को लोकतान्त्रिक आन्दोलन संगै प्रत्यक्ष राजनीतिमा प्रवेश गरेकी थिइन् । २०७४ सालमा प्रदेश सभा सदस्य हुँदै उनी बागमती प्रदेश सरकारको उद्योग तथा वाणिज्य राज्य मन्त्री भइन ।

उनी राजनीतिका अलावा शहिद राधेश्याम जोन्छे स्मृती प्रतिस्ठान मार्फत सामाजिक सेवामा सक्रिय थिइन् । महिला सशक्तिकरण र गरीब बालबालिकाको शिक्षाको क्षेत्रमा उनले ठुलो सहयोग पुर्याएकी छन् ।

उनका तीन छोरा छन् । नेपाली कांग्रेस भक्तपुरले जोन्छेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।