स्वतन्त्र प्रेसविरोधी प्रावधान सच्याउन पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले कार्यान्वयनमा ल्याएको छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ का केही प्रावधानहरू स्वतन्त्र प्रेस विरोधी रहेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघले ती प्रावधान तत्काल सच्याउन सरकारसँग जोडदार माग गर्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नाम र डोमेन मिलेका, धर्म, जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने वा सार्वजनिक शिष्टाचार विपरीत गतिविधि भएको ठहरमा अनलाइन सञ्चारमाध्यम दर्ता नहुनेजस्ता प्रावधानलाई स्वेच्छाचारी भनिएको छ।

त्यसैगरी, निःशुल्क दर्ता र नवीकरण हुँदै आएको व्यवस्थामा शुल्क तोकिएको, स्थानीय अधिकारीमार्फत अनुगमन तथा निरीक्षण गराउने, दर्ता प्रमाणपत्र रद्ध गर्न तीनवटा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने, र पत्रपत्रिकालाई आवश्यक नरहेको तर, अनलाइन सञ्चारमाध्यमलाई हरेक वर्ष नवीकरण गर्नुपर्नेजस्ता प्रावधानलाई विभेदकारी र नियन्त्रणमुखी भनिएको छ।

महासंघले यस्तो नियमन पत्रकारिता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको भन्दै ती प्रावधान सच्याउन सरकारलाई आग्रह गरेको छ।
नत्र, महासंघ आन्दोलित हुन बाध्य हुने चेतावनी दिएको छ।