
भक्तपुर । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ भक्तपुरले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बिहिबार ज्ञापनपत्र पेश गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय र परिपत्र विभेदकारी रहेको र यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक प्रवन्ध, खुला अर्थ नीति र संघीयताको मर्मविपरित भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। सरकारी विज्ञापनको चुहावट रोक्न तथा सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न ज्ञापन पत्रमा माग गरिएको छ।
सबै जिल्ला शाखाले ज्ञापनपत्र बुझाउने महासंघको केन्द्रीय कार्यक्रम बमोजिम भक्तपुर शाखाले पनि ज्ञापनपत्र बुझाएको शाखाका उपाध्यक्ष हेमराज ढकालले जनाएका छन्।
स्वरोजगारमूलक मिडियाको संरक्षण र निजी मिडियामा कार्यरत पत्रकारहरूको रोजगारी संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको शाखाका अध्यक्ष सुन्दर शिल्पकारले बताए ।
जनताको सूचनाको हक ग्यारेन्टी गर्न र सरकारलाई रचनात्मक खबरदारी गर्न मिडिया बलियो बन्नुपर्ने र त्यसका लागि सरकारको नीति निर्णय मिडियामैत्री हुनुपर्ने उनको भनाइ छ।
स्थानीय सरकारको रूपमा रहेका भक्तपुरका चारवटै नगरपालिकालाई पनि ध्यानाकर्षण पत्र मार्फत मिडियाको संरक्षण र सम्वर्द्धनमा सहयोग गर्न अपिल गर्ने अध्यक्ष शिल्पकारले जानकारी गराए ।








