पत्रकार कर्णलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार

सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार विनय कुमार लाल कर्ण पुरस्कृत भएका छन् ।

सहिद पत्रकार लोकेन्द्र बुढाथोकीको सम्झनामा शनिवार ३२औ स्मृति सभा एवम् पुरस्कार वितरण समारोहको आयोजना गरी प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय ललिता साह र राजु विश्वकर्माले नगद ५ हजार ५ रुपैयाँ दोसल्ला र प्रमाण पत्र सहित पत्रकार कर्णलाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत भएका कर्ण सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ निवासी हुन् । उनी सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर तीन दशकदेखि पत्रकारिता गर्दै आएका छन । नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष समेत रहेको कर्ण गोरखापत्रको सप्तरी समाचारदाता समेत हुन ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य साहले नेपाली पत्रकारिता एसियाकै उत्कृष्ट र सप्तरीको पत्रकारिता देशकै मर्यादित एवं जिम्मेवार रहेको बताइन् ।

“पत्रकारले सबै समस्याको समाधान गरिदिने अपेक्षा र भ्रमले हाम्रो गरिमा घट्दै गएको छ ।” साहले भनिन्, “पछिल्ला दिनहरुमा पत्रकारिताको विरासतलाई जोगाउन थुप्रै चुनौति आइलागेको छ ।

पत्रकारिता राज्यको चौथो अङ्ग भएको स्पष्ट पार्दै उनले सत्यतथ्यको खोजी गर्दै राज्यका सबै अङ्गलाई खबरदारी गर्ने काममा लाग्न प्रेरित गरिन । पछिल्लो समय पत्रकारलाई सुरक्षा चुनौती थपिएको र महासंघ यस् बारे गम्भीर रहेको उनको भनाइ छ । 

नेता मदन भण्डारीको मृत्युको छानविनसँगै पत्रकार लोकेन्द्र बुढाथोकीको रहस्यमय मृत्युको भिसेरा रिपोर्ट समेतको छानविन हुनुपर्ने केन्द्रिय सदस्य साहले माग गरिन ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षता र सह सचिव डम्बर राईले संचालन गरेको समारोहमा पूर्व अध्यक्ष एवम् लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक एवम् पूर्व सभापति विष्णु कुमार मण्डल, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, केन्द्रीय परिषद सदस्य मनोज माझी, सतिष कुमार दत्त, वरिष्ठ पत्रकार सुरेन्द्र गुप्ता लगायले सहिद पत्रकार बुढाथोकीको योगदानको स्मरण गरेका थिए ।