दमास्कस । सिरियाको एलेप्पो सहरबाट कुर्दिश नेतृत्वको सशस्त्र समूह सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का सबै लडाकु बाहिरिएका छन्।
आइतबार बिहान सिरियाली रक्षा मन्त्रालयले युद्धविरामको घोषणा गर्दै सशस्त्र समूहलाई सहर छाड्न ६ घण्टाको समयसीमा दिएपछि लडाकुहरूको बहिर्गमन सुरु भएको हो।
एसडीएफका नेता मजलुम अब्दीले अन्तर्राष्ट्रिय मध्यस्थतामा भएको सम्झौताका कारण लडाकु, घाइते, सहिदका परिवार तथा अलपत्र परेका सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिरिन सहज भएको बताएका छन्। उनले सम्झौताले मानवीय संकटलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार बाँकी रहेका एसडीएफ लडाकुहरू बोकेका बसहरू कुर्दिश बहुल क्षेत्र शेख मकसुदबाट बाहिरिएका छन्। सिरिया सरकारमा कुर्द समुदायको राजनीतिक समायोजनबारे भइरहेको वार्ता गतिहीन बनेपछि एलेप्पोमा गत हप्ताको सुरुबाट पुनः भिडन्त सुरु भएको थियो।
पछिल्लो हिंसात्मक घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दशौँ हजार सर्वसाधारण शेख मकसुद र अशिरफीह क्षेत्र छाडेर विस्थापित हुन बाध्य भएका छन्।






